- +977 9862299989
- [email protected]
भूमि व्यवस्थापन विभाग भन्छ– घरजग्गा खरिद गर्दा निम्न १० विषयमा सजग रहनुहोस्
काठमाडौं । एउटा व्यक्तिले घरजग्गा जोड्न जीवनभर संघर्ष गरिरहेको हुन्छ । जीवनभरको कमाई खर्चिंदा पनि घरजग्गा जोड्न मुस्किल छ । आफुले कमाएको पैसा थोरै थोरै भएपनि बचत गरेर बैंकबाट ऋण लिई घरजग्गा जोड्ने धेरै छौं ।
तर, कहिलेकाहीँ जीवनभरको कमाई खर्चिएर घरजग्गा किन्दा बिचौलियाको फन्दामा पर्न पनि सकिन्छ । अर्थात्, तपाईंलाई बिचौलियाले घरजग्गा किनिदिँदा ठग्न सक्छन् ।
नेपालमा घरजग्गा खरिद गर्दा बिचौलियाबाट ठगिने विषय नौलो होइन । यसतर्फ सचेत हुनैपर्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अधिकारी बताउँछन् ।
ठगिएर पछि पछुताउनुभन्दा पहिल्यै सजग रहनुपर्छ । त्यसै घरजग्गा खरिद गर्दाका यस क्षेत्रको बारेमा धेरथोर जानकार हुनैपर्छ ।
भूमि व्यवस्थापन विभागले घरजग्गा खरिद गर्दा १० वटा विषयमा अनिवार्य सजग रहन सेवाग्राहीलाई आग्रह गरेको छ ।
१) नक्सा, फिल्ड बुक, क्षेत्रफल अनुसारको जग्गा फिल्डमा छ कि छैन एकिन गर्ने ।
२) मोठ, श्रेष्ता कायम छ, छैन र जग्गा रोक्का छ, छैन ? जग्गा कुन व्यहोराले जग्गाधनीको स्वामित्वमा आएको हो ? सरकारी सार्वजनिक र अरु व्यक्तिको जग्गा घुसेको छ, छैन ? पहिला घरजग्गाधनी एकिन गर्ने र अधिकृत वारेसनामाबाट लिखत पारित गर्ने भए सोको आधिकारिकता एकिन गर्ने ।
३) अंशियार वा हकवाला छन् छैनन् भए साक्षी राख्ने ।
४) घर टहरासमेत स्वामित्व हस्तान्तरण हुने हो भने सो को व्यहोरा लिखतमा खुलाउने ।
५) प्लटिङको जग्गा भए स्वीकृति लिए नलिएको र मापदण्ड अनुरुप छ, छैन एकिन हुने ।
६) लिखतमा वास्तविक कारोबार मूल्य लेख्ने ।
७) लिखतमा लेखिएको व्यहोरा राम्ररी अध्ययन गरी कार्यालयको कर्मचारीको रोहवरमा मात्र सहि छाप गर्ने ।
८) रजिष्ट्रेशन दस्तुर, सेवा शुल्क, पूँजिगत लाभकर लगायतका दस्तुर बैंक-सम्बन्धित कर्मचारीलाई बुझाई रसिद अनिवार्य रुपमा लिने र सुरक्षित राख्ने ।
९) आर्थिक कारोबार बैंकमार्फत छ छैन हेर्ने ।
१०) लिखत लेख्दा र पारित भएपछि पुर्जा लिँदा जग्गाधनि पूर्जामा आफ्नो नाम, थर, वतन र घरजग्गाको विवरण ठिक छ कि छैन हेर्ने ।